Rule 32
इजाजतपत्र निलम्बन
(१) देहायको अवस्थामा विभाग वा कार्यालयले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र निलम्बन गर्न सक्नेछः–
(क) श्रमिक आपूर्तिकर्ताले ऐनको दफा ६० बमोजिमको अवधिभित्र नियम ३१ बमोजिम बुझाउनु पर्ने विवरण नबुझाएमा,
(ख) ऐनको दफा ६२ को उपदफा (६) बमोजिम जरिबाना भएकोमा त्यस्तो जरिबाना विभाग वा कार्यालयले तोकेको अवधिभित्र नबुझाएमा,
(ग) नियम २८ को उपनियम (२) बमोजिम तोकिएका शर्तहरूको पालना नगरेमा।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र निलम्बन गर्नु अघि त्यस्तो श्रमिक आपूर्तिकर्तालार्इ आफ्नो सफार्इ पेश गर्न सात दिनको मौका दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम तोकिएको अवधिभित्र सफार्इ पेश नगरेमा वा पेश गरेको सफार्इ सन्तोषजनक नदेखिएमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताको इजाजत एक पटकमा छ महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम निलम्बन भएको श्रमिक आपूर्तिकर्ताले निलम्बन भएको अवधिभर श्रमिक आपूर्ति गर्न पाउने छैन।
तर निलम्बन हुनु  अगाडि आपूर्ति गरेका श्रमिकलाई निरन्तर काममा लगाउन बाधा पर्ने छैन।
(५) श्रमिक आपूर्तिकर्ताले ऐन र यस नियमावलीमा तोकिएको शर्त तथा दिइएका निर्देशनहरु पालना गरेको प्रमाण सहित निलम्बन फुकुवा गर्न निवेदन दिएमा विभाग वा कार्यालयले जाँचबुझ गर्दा निवेदनको व्यहोरा साँचो देखिएमा निलम्बन फुकुवा गर्न सक्नेछ।
(६) विभाग वा कार्यालयले ऐन र यस नियमावली बमोजिम श्रमिक आपूर्तिकर्तालार्इ निलम्बन गरेको सूचना आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।